बेलौरी: कैलालीको पहलमानपुरमा सवारी दुर्घटना हुँदा बस र ट्रकमा सवार १६ सहित १९ जना जना घाइते भएका छन्। आज दिउँसो २ बजेर २० मिनेटमा जिल्लाको घोडाघोडी नगरपालिका–१० घुम्तिभाकल स्थित पूर्वपश्चिम राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको (मदिराको लोड गाडी) सुदूरपश्चिम प्रदेश ०१–००१ ख २७५९ नम्बरको ट्रक र पश्चिमबाट पुर्व तर्फ आउदै गरेको म १ ख ९०९ नम्बरको बस एक–आपसमा ठोक्किदा बस र ट्रकमा सवार यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए। घाइतेहरुको उद्धार र उपचारका लागि प्रहरी चौकी पहलमानपुरबाट पाँच जना र ईलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक बिरेन्द्रबिर बिश्वकर्माको कमाण्डमा १० जना प्रहरी टोली खटिएको थियो।
दुर्घटनामा ट्रक चालक जोशीपुर गाउँपालिका–५ का ३५ वर्षीय बालकृष्ण चौधरीको दाहिने खुट्टा र टाउकोमा चोट लागेको छ। उनलाई भेरी अस्पताल बाँके रिफर गरिएको छ। त्यस्तै बस चालक बैतडीको पाटन नगरपालिका–७ का ३८ वर्षीय तेजसिंह ठगुन्नाको टाउको र दाँया खुट्टामा चोट लागेको छ। बसका सहचालक गोदावरी नगरपालिका–२ का ४० वर्षीय बिर्खबहादुर राना मगरको दुबै हातमा चोट लागेको छ।