निराज रानाभाट, चितवन : लक्की मिडिया हाउस चितवनको आयोजनामा असोजको पहिलो साता चितवनमा फिल्मी अवार्ड हुने भएको छ । ‘ लक्की फिल्मी अवार्ड – २०८० ’ का नामबाट मिडिया हाउसले फिल्मी अवार्डको कार्यक्रम सञ्चालन गर्न लागेको हो । मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्ने हेतुले अवार्ड कार्यक्रम आयोजना गरिएको हो । हाउसका महा – प्रबन्धक हरि कार्की ‘ लक्की ’ ले पत्रकारहरुसँग कुराकानी गर्दै अवार्डको तयारी तीब्र पारिएको जानकारी दिए । अवार्डको कार्यक्रममा २ दर्जन विधामा कलाकारहरुलाई सम्मान गर्ने कार्कीले बताए । उनले भने,‘असोज पहिलो सातामा कार्यक्रम गर्ने तयारीमा जुटेका छौँ । कलाकारहरुसँग बसेर मिति तय गर्ने छौँ। छिट्टै मिति घोषणा हुन्छ ।’
चितवनमा पहिलोपटक आयोजना गर्न लागिएको अवार्डका लागि आयोजकले प्रचारप्रसार र अन्तरक्रिया कार्यक्रमलाई तीब्र बनाएको उनले बताए । विभिन्न जिल्लामा गएर अवार्डमा सहभागी हुनका लागि निमन्त्रणा दिने, अन्तरक्रिया तथा भेटघाटका कार्यक्रमहरु अघि बढिरहेको कार्कीले जानकारी दिए । उहाँले भने,‘अहिले नोमिनेसको काम तीब्र बनाएका छौँ ।’ चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारहरुलाई हौसला र सम्मान भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गर्न लागिएको कार्कीले बताए । वि.सं. २०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।