निराज रानाभाट, भरतपुर, चितवन : मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा हुन लागेको ‘ लक्की फिल्मी अवार्ड – २०८० ’ मा नेपाली कलाकारिता क्षेत्रकी पहिलो महिला विशिष्ट हाँस्यकलाकार बसुन्धरा भुसाललाई ‘ लाइफटाइम अचिभमेन्ट अवार्ड ’ बाट सम्मान गर्ने भएको छ । नेपाल चलचित्र क्षेत्रमा विशिष्ट हाँस्यकलाकार भुसालले पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको हो ।
७ वर्षको उमेरमा रंगमञ्चबाट कलाकारिता शुरु गरेकी विशिष्ट हाँस्यकलाकार भुसालको फिल्मी यात्रा पहिलो नेपालमा खिचिएको नेपाली चलचित्र ‘ आमा ’ बाट भएको थियो । नेपाली रजतपटमा वि.सं. २०२२ देखि निरन्तर नेपाली चलचित्रमा लागि रहेकी भुसाल सदाबहार अभिनेत्रीको रुपमा परिचित छिन् । आमा चलचित्रमा ‘ भुन्टी ’ को भूमिकाबाटै नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी नेपाल चलचित्र जगतकी पहिलो महिला विशिष्ट हाँस्यकलाकार भुसालले १ सय ६५ वटा भन्दा बढी नेपाली चलचित्र मार्फत दर्शकको मन जितिसकेकी छिन् ।
नेपाली सिनेमा जगतको संरक्षण र जर्गेना गर्ने उद्देश्यसहित फिल्मी अवार्ड गर्न लागिएको लक्की मिडिया हाउसका महा – प्रबन्धक हरि कार्की ‘ लक्की ’ को भनाइ छ । ‘यो तरिकाको अवार्ड नेपालमै पहिलोपटक हुन्छ । जहाँ सबै कलाकारकर्मी, कलाप्रेमीले सम्मान र अपनत्व पाउनु हुन्छ’, कार्कीले भने । अवार्डमा २ दर्जनभन्दा बढी कलाकर्मी सम्मानित हुने उनले जानकारी दिए । चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्ने लक्ष्यसहित चितवनमा फिल्मी अवार्ड कार्यक्रम गर्न लागेको उनले बताए । लक्की मिडिया हाउसले गर्न लागेको फिल्मी अवार्डमा देशभरका सिने कलाकारहरुको जमघट चितवनमा हुने कार्कीले जानकारी दिए ।