काठमाडौंको काभ्रेस्थलीमा जन्मिएका मनोज फुयाल यतिबेला अमेरिकामा छन्। अमेरिकामा रहेर आफ्नो पेशा र व्यवसायमार्फत राम्रो आम्दानी गरिरहेका फुयालको जीवनशैली भने आफ्नो जन्मभूमि र समाजसँग जोडिएको देखिन्छ।
नेपालमा रहँदा नै सरल, इमानदार र सहयोगी स्वभावका रूपमा परिचित फुयाल अरूको दुःखमा साथ दिन रुचाउँथे। विदेश पुगेपछि पनि उनको त्यो स्वभावमा परिवर्तन आएको छैन। आफूले गरेको सहयोगलाई प्रचार गर्नेभन्दा आवश्यक परेका व्यक्तिलाई सकेको सहयोग गर्ने उनको शैली रहेको बताइन्छ।
फुयालका अनुसार अरूलाई दुःख दिने वा पीडा दिने काम गर्नु मानवीय व्यवहार होइन। मानिसले आफ्नो सफलतासँगै अरूको सम्मान र सहयोगलाई पनि प्राथमिकता दिन सक्नुपर्ने उनको धारणा छ।
अमेरिका पुगेको केही समयपछि उनी आध्यात्मिक जीवनतर्फ पनि आकर्षित भए। अहिले उनी आफ्नो कामसँगै ध्यान र योगामा समय दिने गर्छन्। व्यस्त जीवनका बीच आत्मअनुशासन, सकारात्मक सोच र आध्यात्मिक अभ्यासलाई उनले महत्त्व दिँदै आएका छन्।
विदेशमा रहेर कमाएको रकम केवल व्यक्तिगत जीवनमा मात्र सीमित नराखी नेपालमा व्यवसाय गरिरहेका आफूले विश्वास गरेका साथीहरूलाई समेत उनले सहयोग गर्दै आएका छन्। नेपालमा केही गर्न चाहने र व्यवसायमा अघि बढिरहेका विश्वासिला साथीहरूलाई साथ दिनु पनि आफ्नो जिम्मेवारीको एउटा हिस्सा भएको उनको बुझाइ छ।
फुयालको अबको सोच भने केही समयपछि नेपाल फर्किएर आफ्नै देशमा केही गर्ने रहेको छ। विदेशमा सिकेको अनुभव, कमाएको पूँजी र आफूले बनाएको सम्बन्धलाई नेपालमै उपयोग गर्ने उनको इच्छा छ।
सधैँ अरूको सम्मान गर्नुपर्ने मान्यता राख्ने फुयालका लागि सफलता केवल पैसा कमाउनु मात्र होइन, आफ्नो कारणले अरूको जीवनमा सकारात्मक प्रभाव पर्नु पनि हो। त्यसैले उनी आफूले गरेका सहयोगलाई प्रचारभन्दा व्यवहारमै सीमित राख्न रुचाउँछन्।
आफ्ना साथीभाइलाई पनि उनी जहिले सकारात्मक कुरा सोच्न र जीवनमा अगाडि बढ्न प्रेरित गर्ने गर्छन्। उनी सबैलाई राम्रो मान्ने र सबैको सम्मान गर्ने स्वभावका छन्। आफू आर्थिक रूपमा सफल भए पनि कहिल्यै ठूलो बन्न नखोज्ने, बरु अरूलाई नै ‘हजुरजस्तो राम्रो मान्छे’ भनेर सम्मान गर्ने उनको बानी अझै उस्तै रहेको उनका एक साथी बताउँछन्।
‘पैसा कमाए पनि मनोजमा पहिला र अहिलेमा कुनै फरक पाइएको छैन,’ उनका ती साथीले भने, ‘उहाँ पहिले पनि सरल हुनुहुन्थ्यो, अहिले पनि सबैसँग उस्तै व्यवहार गर्नुहुन्छ। आफूले गरेको सहयोगको चर्चा गर्नुभन्दा अरूलाई कसरी सकारात्मक बनाउन सकिन्छ भन्नेमा ध्यान दिनुहुन्छ।
अमेरिकामा रहे पनि नेपाल, नेपाली समाज र आफ्ना साथीहरूसँगको सम्बन्धलाई निरन्तरता दिइरहेका फुयालको जीवनशैलीले विदेशमा रहेर पनि आफ्नो समाजप्रतिको जिम्मेवारीलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने एउटा उदाहरण प्रस्तुत गरेको छ।
फुयाल भन्छन्, “कसले के गर्यो भन्नेमा लाग्ने समयभन्दा मैले के गर्न सक्छु र के गर्नुपर्छ भन्ने सोचमा समय खर्च गरेँ भने एक दिन अवश्य सफलता प्राप्त हुनेछ।”
