सुन्दर हरैचा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा जनताको चरम असन्तुष्टि देखिएको छ। कार्यक्रममा सहभागीहरुले नगरपालिका क्षेत्रभित्र का गन्यमान्य र प्रतिष्ठित व्यक्तिहरूबाटै सार्वजनिक जग्गा अतिक्रमण गरी त्यसलाई अव्यवस्थित बसोबासीको नाममा लालपुर्जा बनाउन प्रयत्न गरिरहेको कारण नगर क्षेत्र भित्रका सार्वजनिक जमिनहरू अतिक्रमणको चपेटामा पर्दै गएको तर नगरपालिका त्यसको संरक्षणको लागि उदासीन रहेको विषयमा खबरदारी गरेका थिए। सुकुम्बासीलाई बस्ने जग्गा समेत उपलब्ध नगराएको तर स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवीका रूपमा चिनिएका व्यक्तिहरू, पूर्व जनप्रतिनिधि र वर्तमान जनप्रतिनिधिहरू समेत सार्वजनिक जग्गा अतिक्रमणमा संलग्न रहेको भन्दै नगरप्रमुख को ध्यानाकर्षण गरिएको थियो।
फोहोरमैला व्यवस्थापनको सन्दर्भमा १२ वटै वडाको फोहोर गछिया खोला र बुढी खोलाको संगम स्थल पानीको स्रोत नजिक राखिएको सम्बन्धमा समेत सहभागीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। त्यसैगरी निजी विद्यालयका शिक्षक शिक्षिकाहरूको दक्षता मापन गर्ने सम्बन्धमा कुनै व्यवस्था नभएको कारण निजी विद्यालयहरू बालबालिकाको यातना गृह बन्दै गएको तर्फ समेत सजग गराएका छन्। नगरपालिकाले सञ्चालन गर्ने नगर अस्पताल जनतालाई पाएक पर्ने पर्ने ठाउँमा नभएको, विकास निर्माणमा ढिला सुस्ती भएको, हात्ती नियन्त्रण गर्न असफल भएको लगायतका सवालमा सहभागीहरूले प्रश्न गरेका थिए। प्रश्नको जवाफ दिँदै नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईंले सीमित स्रोत साधन अनुभवको कमी दक्ष जनशक्तिको अभाव आदिको कारण केही कमी कमजोरी भएता पनि निराश हुनुपर्ने अवस्था नरहेको धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रम सुन्दररैचा नगरपालिका वडा नम्बर ३ स्थित रणकाली मन्दिरको सभाहलमा भएको थियो।
