ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीद्वारा बढुवा भएकालाई दर्ज्यानी चिन्ह सुशोभन।
ललितपुर, बैशाख २२ – नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्र अनुसार जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षकमा पदोन्नति भएका तीन जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह (इन्सिग्निया) लगाइदिने कार्यक्रम सम्पन्न भएको छ।
प्रहरी वृत्त सातदोबाटो ललितपुरमा कार्यरत प्रहरी नायब निरीक्षक ईन्द्र बहादुर घिसिङ, जयराम लामा तथा प्रहरी प्रभाग बाडेगाउँ ललितपुरमा कार्यरत बुध्दी विक्रम कार्कीलाई दर्ज्यानी चिन्ह लगाइ बधाई तथा निर्देशन दिइएको हो।
कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले चिन्ह लगाइदिंदै नवपदोन्नत अधिकृतहरूलाई इमान्दारी, निष्ठा र जिम्मेवारीपूर्वक सेवा दिन निर्देशन दिनुभयो।
प्रहरी वरिष्ठ उपरीक्षक अधिकारी जनमैत्री व्यवहार, अनुशासन र इमानदारीका लागि प्रहरी संगठनभित्र मात्रै नभई सर्वसाधारण जनताको माझ समेत लोकप्रिय व्यक्तित्वका रूपमा चिनिन्छन्। जनताको काममा सक्रियता देखाउने र सेवा प्रवाहमा कुनै प्रकारको लापरवाही हुन नदिने अधिकृतका रूपमा उहाँलाई सम्मानका साथ हेरिन्छ।
कार्यक्रममा अन्य प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।