काठमाडौं, मकवानपुरका राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भरत पराजुलीले आफूभन्दा पनि युवा, सक्षम र सम्भावनाशील नेताका रूपमा प्रशान्त उप्रेतीलाई स्वीकार गरेको बताएका छन्। थाहानगरपालिकामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा सकारात्मक परिवर्तन हुन्छ भने आफू चुनावमा उठ्ने वा नउठ्ने ठूलो विषय नभएको स्पष्ट पारे।
एक सामाजिक व्यक्तित्वका रूपमा सधैँ परिवर्तनका लागि लड्दै आएको उल्लेख गर्दै जिल्ला सभापति पराजुलीले पार्टीको टिक पाएर उम्मेदवार बनेको व्यक्ति पार्टीकै प्रतिनिधि हुने भएकाले सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरू उम्मेदवारलाई विजयी गराउन एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। उनले युवा नेता प्रशान्त उप्रेतीमा पर्याप्त क्षमता, ज्ञान र नेतृत्व कौशल रहेको भन्दै उहाँलाई विजयी गराएर संसद् पठाउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा बोल्दै पराजुलीले मकवानपुरमा पर्यटकीय क्षेत्रको अपार सम्भावना रहेको उल्लेख गर्दै, सबै एक भएर लागेमा जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए। अब परिवर्तन गर्नुको विकल्प नरहेको भन्दै उनले समयमै सही निर्णय लिएर परिवर्तनको बाटो रोज्न सबैलाई आह्वान गरे।
भेटघाट कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका सजग, इमानदार र परिवर्तन चाहने व्यक्तिहरूको उल्लेखनीय उपस्थिति देखिएको उल्लेख गर्दै जिल्ला सभापति पराजुलीले यस्तो जनसमर्थनले आफूलाई थप उत्साहित बनाएको बताए।
उनले भने, “आजको उपस्थितिले अब प्रशान्त उप्रेतीको जित लगभग सुनिश्चित जस्तै देखिएको छ। सबै राम्रो मानिसहरू एक ठाउँमा जुट्न थालेपछि परिवर्तन रोक्न सकिँदैन।”
उनले स्पष्ट रूपमा भने, “अब हुन्छ भन्ने होइन, अब परिवर्तन गर्नैपर्छ, र त्यो परिवर्तनका लागि हामी सबै एक भएर लाग्नुपर्छ।”
