काठमाडौं, मनहरी गाउँपालिका वडा नं. ९ रजैयामा लागूपदार्थ दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। केदारेश्वर युवा क्लबको आयोजना तथा वडा नं. ९ कार्यालयको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।
केदारेश्वर युवा क्लब का अध्यक्ष राजेन्द्र कुँवर क्लबको अध्यक्ष बनेपछि क्लबले सक्रिय रूपमा सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। उहाँकै नेतृत्वमा क्लबले युवामुखी र समुदाय केन्द्रित गतिविधिहरूलाई प्राथमिकता दिएको बताइएको छ।
कार्यक्रम क्लबका अध्यक्ष राजेन्द्र कुँवरको अध्यक्षता तथा वडा नं. ९ का अध्यक्ष राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। युवावर्ष गंगा आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा मामाघर नेपालका संरक्षक एवं प्राध्यापक अर्पण पराजुलीले सहजीकरण गरेका थिए।
कार्यक्रममा पछिल्लो समय बालबालिका तथा किशोर–किशोरीहरू लागूपदार्थ सेवनतर्फ आकर्षित भइरहेको अवस्थालाई मध्यनजर गर्दै विद्यालय तहबाटै सचेतना आवश्यक रहेको विषयमा जोड दिइएको थियो। अध्यक्ष कुँवरले दुव्र्यसनले शारीरिक तथा मानसिक रूपमा गम्भीर असर पार्ने उल्लेख गर्दै आगामी दिनहरूमा विद्यालयस्तरमै निरन्तर सचेतना अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका देवकुमार श्रेष्ठ, नेपाल प्रहरी सम्झना गिरि, भक्ति सुधार केन्द्रका सुरज श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
