त्रिभुवन विश्वविद्यालय का उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले बिहीबार सामूहिक रूपमा राजीनामा दिएका छन्।
उपकुलपति दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिस्ट्रार केदार प्रसाद रिजाल ले उत्पन्न राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो पदबाट अलग हुने निर्णय गरेका हुन्।
नयाँ सरकारले राजनीतिक नियुक्तिहरू खारेज गर्ने प्रावधानसहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उनीहरूले कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा बुझाएका छन्।
पदाधिकारीहरूका अनुसार विश्वविद्यालयमा राजनीतिक खिचातानी अन्त्य गर्न र नयाँ सरकारलाई काम गर्न सहज वातावरण बनाउन आफूहरूले ‘मार्गप्रशस्त’ गर्ने निर्णय लिएका हुन्। शिक्षाध्यक्ष केसीले सरकार अध्यादेशमार्फत पदाधिकारी हटाउने तयारीमा रहेको संकेत देखिएकाले पदमा कायम रहनुभन्दा स्वेच्छिक राजीनामा दिनु उपयुक्त ठानेको बताएका छन्।
उल्लेखनीय रूपमा, फरक-फरक समयमा नियुक्त भएका यी पदाधिकारीहरूमध्ये उपकुलपति अर्याल केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका थिए भने केसी र रिजाल पुष्पकमल दाहाल नेतृत्वको सरकारका समयमा नियुक्त भएका थिए।
चार वर्षे कार्यकाल बाँकी रहँदै सरकारी अध्यादेशको दबाबबीच उनीहरूले सामूहिक रूपमा पद त्याग्ने निर्णय गरेका हुन्।
