काठमाडौं, रसायन तथा विषादीमुक्त फलफूल उत्पादन गर्दै आएको छहारी फार्म, सिन्धुलीको स्वादिलो कटहरको माग काठमाडौंमा उल्लेखनीय रूपमा बढ्दै गएको छ। हालसम्म छहारीको कटहर छैटौं पटक काठमाडौं पुगिसकेको छ।
एकपटक छहारीको कटहरको स्वाद चाखेका ग्राहकहरूले पुनः–पुनः अर्डर गरिरहेका छन्। ग्राहकहरूका अनुसार कटहर अत्यन्तै मिठो, रसिलो र भित्री भाग (कोर) समेत स्वादिष्ट भएकाले बजारमा यसको छुट्टै पहिचान बनेको छ।
छहारी फार्मले विगत तीन वर्षदेखि रसायन तथा विषादीरहित जैविक खेतीमार्फत कटहर, भुइँकटहर, अम्बा, उखु, एप्पल बेयरलगायत विभिन्न फलफूल उत्पादन गर्दै आएको जनाएको छ। स्वस्थ, सुरक्षित र प्राकृतिक स्वादका कारण यसको माग दिनप्रतिदिन बढिरहेको फार्मको संचालक लभ कुमार थापाले जानकारी दिनु भयो ।
