आफूलाई ‘पाथीभरा माता’ भनेर चिनाउने समीर थापालाई मदिरा सेवन गरी एक महिलामाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार सुर्खेतमा एक महिलालाई बोक्सीको आरोप लगाउँदै अश्लील तथा अपमानजनक शब्द प्रयोग गरी कुटपिट र दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो। भिडियो भाइरल भएसँगै प्रहरीले थापालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा थापाले मदिरा सेवनको अवस्थामा ती महिलामाथि गैरकानुनी तथा अमानवीय व्यवहार गरेको देखिएको प्रहरीले जनाएको छ।
धार्मिक आस्थाको आडमा महिलामाथि हिंसा तथा मानमर्दन गरेको आरोप लागेका थापामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

