पोखरा, साउन ३१ — पाकिस्तानस्थित ब्रोड पिक (८,०५१ मिटर) हिमालमा गएको हिमपहिरोमा परी एलाइट एक्स्पेड (Elite Exped) का सिनियर माउन्टेन गाइड पुरबहादुर ‘युक्ता’ गुरुङसहित ४ जनाको शव फेला परेको छ।
दिवंगत गुरुङ नेपाली पर्वतारोहण क्षेत्रमा अनुभवी गाइडका रूपमा परिचित थिए। उनले १० पटक सगरमाथा आरोहण गर्नुका साथै २८ पटक आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरेका थिए। उनी विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ का भरपर्दा सिनियर गाइड तथा टोलीका मुख्य सहयोगीसमेत थिए।
हिमपहिरोपछि टोली नेता निर्मल पुर्जा भने अझै बेपत्ता रहेका छन्। उद्धार टोलीका अनुसार उनको जीपीएस उपकरणमा केही गतिविधि (मुभमेन्ट) देखिएको जानकारी प्राप्त भएपछि हेलिकप्टरसहित खोजी तथा उद्धार अभियानलाई थप तीव्र बनाइएको छ।
प्रतिकूल मौसम, उच्च हिमाली भूगोल तथा कठिन परिस्थितिका बाबजुद उद्धार टोलीले निरन्तर खोजी कार्य जारी राखेको जनाएको छ। यस घटनाले नेपाली पर्वतारोहण क्षेत्रमा गहिरो शोक छाएको छ भने निर्मल पुर्जाको सकुशल उद्धारको कामना गर्दै स्वदेश तथा विदेशबाट प्रार्थना र शुभेच्छा व्यक्त भइरहेका छन्।
घटनाबारे थप आधिकारिक विवरण आउने क्रम जारी रहेको सम्बन्धित निकायले जनाएको छ।
