पृथ्वी राजमार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिकाको दुवै तर्फको प्रवेश नाका कोत्रे र सेराटार क्षेत्रमा अत्याधुनिक CCTV क्यामेरा जडान गरिएको छ। नयाँ प्रविधियुक्त यी क्यामेराले राजमार्गमा गुड्ने सवारी साधनको नम्बर प्लेट स्वचालित रूपमा पहिचान (Automatic Number Plate Recognition–ANPR) गरी आवश्यक विवरण नेपाली प्रहरीलाई सहज र तत्काल उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

सूर्य नेपाल प्रालिको आर्थिक सहयोग तथा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको व्यवस्थापनमा जडान गरिएका यी अत्याधुनिक CCTV क्यामेराहरूको निगरानी तथा सञ्चालन इलाका प्रहरी कार्यालयबाट गरिनेछ। यस प्रणालीमार्फत राजमार्गमा हुने सवारी आवागमनको नियमित अनुगमन, शंकास्पद तथा फरार सवारी साधनको पहिचान, चोरी भएका सवारीको खोजी तथा विभिन्न आपराधिक घटनाको अनुसन्धानमा प्रहरीलाई थप प्रभावकारी सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रविधिमैत्री सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाउने उद्देश्यले जडान गरिएका यी CCTV क्यामेराले शुक्लागण्डकी क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा आकस्मिक घटनाको छिटो अनुसन्धान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
स्थानीय तह, निजी क्षेत्र र नेपाल प्रहरीबीचको सहकार्यमा सञ्चालनमा आएको यो प्रणालीले आधुनिक प्रविधिमार्फत सार्वजनिक सुरक्षा अभिवृद्धि गर्ने तथा नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
