आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ। विभागले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट गर्ने प्रणाली तथा विधिबारे जानकारी गराउँदै नमुना उपहार छनोट प्रक्रिया समेत प्रस्तुत गरेको हो।
विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पहिलो उपहार घोषणा शुक्रबार गरिनेछ। साउन १ गतेदेखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका उपभोक्तामध्ये योग्य सहभागीलाई नगद उपहार प्रदान गरिने व्यवस्था गरिएको छ।
विभागका अनुसार उक्त अवधिमा प्रत्येक दिनको कारोबारका आधारमा १५ जना उपभोक्ताले कर कट्टीपछि जनही १ लाख रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन्। साथै, सोही अवधिमा खरिद गरेका सम्पूर्ण योग्य उपभोक्तामध्ये एक जनाले १० लाख रुपैयाँको बम्पर नगद उपहार जित्नेछन्। बम्पर पुरस्कार रकममा भने प्रचलित कानुनअनुसार कर लाग्ने विभागले जनाएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम घोषणा गरेका थिए। करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि प्रत्येक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको कारोबार) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाभरको कारोबार) उपहार घोषणा गरिनेछ।
बैंक तथा डिजिटल वालेटको QR Code मार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुनेछन्। तर, उपहार दाबी गर्न खरिदको बिल सुरक्षित राख्नु अनिवार्य हुनेछ।
त्यसैगरी, नगदमार्फत खरिद गर्ने उपभोक्ताले भने खरिदपछि प्यान वा भ्याट बिल अनिवार्य रूपमा लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गर्नुपर्नेछ। बिल अपलोड गरेपछि प्राप्त हुने कुपनमार्फत उनीहरू पनि उपहार कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
विभागले यो कार्यक्रमले उपभोक्तामा बिल लिने बानीको विकास हुनुका साथै कर प्रणालीलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
