काठमाडौं, साउदी अरबमा नेपाली श्रमिकका लागि लागू गरिएको साउदी भिसा स्किल भेरिफिकेसन प्रोग्राम (एसभीपी) को प्रमाणीकरण प्रक्रियामा देखिएको अन्योलका कारण साउदी रोजगारीमा जाने तयारीमा रहेका नेपाली श्रमिक प्रभावित भएका छन्।
रोजगारीका लागि छनोट प्रक्रिया पूरा गरी मेडिकलसमेत गराइसकेका श्रमिकको भिसा प्रक्रिया अघि बढ्न नसक्दा उनीहरू अन्योलमा परेका छन्। मेडिकलको म्याद सकिन लाग्दासमेत एसभीपीको विषयमा ठोस निर्णय नआएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।
यात्रा एचआर सोलुसनका नोर्बु तामाङका अनुसार एसभीपीसम्बन्धी अन्योलका कारण सबै प्रक्रिया पूरा गरेका श्रमिकसमेत समस्यामा परेका छन्।
‘श्रमिकले रोजगारीका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेर मेडिकलसमेत गराइसकेका छन्,’ तामाङले भने, ‘तर एसभीपी प्रमाणीकरणको विषय स्पष्ट नहुँदा उनीहरूको भिसा प्रक्रिया अघि बढ्न सकेको छैन। यस विषयमा सरकारले तत्काल कूटनीतिक पहल गरेर समाधान खोज्नुपर्छ।
एसभीपी लागू गर्ने विषयलाई लिएर वैदेशिक रोजगार व्यवसायीहरूले सुरुदेखि नै असहमति जनाउँदै आएका छन्। एसभीपीका कारण श्रमिकको लागत बढ्ने, प्रक्रिया थप जटिल बन्ने र त्यसको आर्थिक भार अन्ततः श्रमिकमै पर्ने भन्दै व्यवसायीहरूले विरोध गर्दै आएका हुन्।
एसभीपीको विरोधमा व्यवसायीहरूले सम्बन्धित कार्यालयमा धर्ना तथा घेराउ गरेपछि विवाद थप चर्किएको थियो। त्यसपछि युवा तथा श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधिहरूले उक्त कार्यालयमा ताला लगाएका थिए।
व्यवसायीहरूका अनुसार एसभीपीबारे नेपाल सरकार, सम्बन्धित निकाय र साउदी पक्षबीच स्पष्ट समझदारी बन्न नसक्दा त्यसको प्रत्यक्ष असर श्रमिकको रोजगारी प्रक्रियामा परेको छ। लामो समयदेखि साउदी रोजगारीका लागि तयारी गरिरहेका श्रमिक भिसा प्रक्रिया कहिले अघि बढ्ने भन्ने अन्योलमा छन्।
तामाङले श्रमिकको हितलाई केन्द्रमा राखेर सरकारले तत्काल समाधान खोज्नुपर्ने बताए।
‘श्रमिकको समय र पैसा खर्च भइसकेको छ। अब उनीहरूलाई थप अन्योलमा राख्नु हुँदैन,’ उनले भने, ‘सरकारले साउदी पक्षसँग आवश्यक कूटनीतिक पहल गरी एसभीपीको विषयमा स्पष्ट निर्णय गर्नुपर्छ।
साउदी अरब नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्य भएकाले भिसा प्रक्रियामा देखिएको अवरोध लामो समय कायम रहे त्यसको असर समग्र वैदेशिक रोजगारी तथा श्रम बजारमा समेत पर्न सक्ने व्यवसायीहरूको भनाइ छ।
