मनहरी, मनहरी गाउँपालिका–९ रजैयामा दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। केदारेश्वर युवा क्लब मनहरी–९ रजैयाको आयोजनामा आगामी असोज ३ गतेदेखि १० गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो।
‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि राष्ट्र’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा मनहरी गाउँपालिकाका ९ वटै वडाका फुटबल टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।
युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नुका साथै खेल प्रतिभाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको केदारेश्वर युवा क्लबले जनाएको छ।
प्रतियोगिताको विजेता टोलीले नगद ६० हजार रुपैयाँ तथा उपविजेता टोलीले ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख ५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताको पहिलो संस्करणको उपाधि मनहरी गाउँपालिका–५ को टोलीले जितेको थियो।
प्रतियोगिताको मुख्य आयोजक मनहरी गाउँपालिका वडा नं. ९, ज्यामिरे, मकवानपुर, सह–आयोजक मनहरी गाउँपालिका वडा खेलकुद विकास समिति तथा आयोजक केदारेश्वर युवा क्लब, मनहरी–९ रजैया रहेका छन्।
आयोजकले प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न खेलाडी, खेलप्रेमी, स्थानीयवासी तथा सम्बन्धित सबैलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।
