काठमाडौं, गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउन गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको कोषमा जम्मा गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायका अनुसार जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्थानीय वन उपभोक्ता समितिसमेतको सहयोगमा उक्त रकम संकलन गरिएको हो।
जसअनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १० लाख रुपैयाँ, शिक्षकहरूबाट १५ लाख ३२ हजार १२९ रुपैयाँ, कर्मचारीहरूबाट ९ लाख ४२ हजार ७०३ रुपैयाँ तथा जनप्रतिनिधिहरूबाट ६ लाख १३ हजार ३०५ रुपैयाँ संकलन गरिएको थियो।
जनप्रतिनिधिहरूतर्फ गाउँपालिका अध्यक्षको तीन महिनाको पारिश्रमिक तथा अन्य जनप्रतिनिधिहरूको एक महिनाको पारिश्रमिक बराबरको रकम समावेश गरिएको छ।त्यस्तै, मनकामना सामुदायिक वन उपभोक्ता समिति, मनहरीबाट ५१ हजार रुपैयाँ तथा विद्यालय सहजकर्ता र कर्मचारीहरूबाट ४८ हजार १२६ रुपैयाँ सहयोग प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए।
सरकारले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि गरेको आह्वानअनुसार गाउँपालिकाले संस्थागत तथा व्यक्तिगत रूपमा रकम जुटाएर कोषमा दाखिला गरेको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए।
अध्यक्ष कालाखेतीका अनुसार भदौ १४ गते बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट १० लाख रुपैयाँ प्रधानमन्त्री विपद् सहायता कोषमा जम्मा गर्ने निर्णय गरेको थियो।
बाढीपीडितको सहयोगार्थ गाउँपालिका अध्यक्ष कालाखेतीले आफ्नो तीन महिनाबराबरको सेवा–सुविधा तथा अन्य जनप्रतिनिधिहरूले एक महिनाबराबरको सेवा–सुविधाबापतको रकमसमेत सोही कोषमा जम्मा गर्ने घोषणा बैठकमा गरेका थिए।
