मकवानपुर, कैलाश गाउँपालिका–२ छ्याङदुङस्थित श्री कमला देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राम एकवाल यादव नेपाली कांग्रेसको वडा अधिवेशन तथा पार्टीसम्बन्धी कार्यक्रममा खुला रूपमा सहभागी भएको विषयले स्थानीयस्तरमा आक्रोश बढेको छ ।
बहालवाला सामुदायिक विद्यालयका प्रधानाध्यापक राजनीतिक दलको कार्यक्रममा सार्वजनिक रूपमा सहभागी हुनु पदीय मर्यादा र शिक्षकसम्बन्धी कानुनी तथा आचारसंहितासँग मेल खान्छ कि खाँदैन भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने स्थानीयको माग छ।
यादवले कमला देवी माध्यमिक विद्यालयमा करिब २५ वर्षदेखि अध्यापन गर्दै आएको बताइएको छ। लामो समयदेखि विद्यालयमा कार्यरत प्रधानाध्यापक नै राजनीतिक दलको कार्यक्रममा खुलेर सहभागी भएको दृश्य सार्वजनिक भएपछि विद्यालयको शैक्षिक वातावरण र पठनपाठनको गुणस्तरबारे समेत स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ।
स्थानीयको गुनासो भने विद्यालयमा विद्यार्थीको पठनपाठन र शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकता दिनुपर्ने समयमा विद्यालय नेतृत्व राजनीतिक गतिविधिमा देखिनु उचित हो कि होइन भन्नेमा केन्द्रित छ। उनीहरूले प्रधानाध्यापकको राजनीतिक कार्यक्रममा सहभागिताभन्दा विद्यालयको शैक्षिक सुधार, नियमित पठनपाठन र विद्यार्थीको भविष्य निर्माण मुख्य जिम्मेवारी हुनुपर्ने बताएका छन्।
शिक्षा ऐन, २०२८ मा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाउनेसमेत व्यवस्था उल्लेख छ।
तर कुनै राजनीतिक कार्यक्रममा सहभागी हुँदैमा उक्त व्यक्ति राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य नै रहेको निष्कर्ष निकाल्न मिल्दैन। त्यसैले राम एकवाल यादवको कार्यक्रममा सहभागिताको प्रकृति, उहाँको राजनीतिक दलसँगको औपचारिक सम्बन्ध तथा प्रचलित कानुन र शिक्षक आचारसंहिताअनुसार त्यसको वैधानिक अवस्थाबारे सम्बन्धित निकायले तथ्यगत छानबिन गर्नुपर्ने देखिन्छ।
विद्यालयजस्तो संवेदनशील संस्थाको नेतृत्व गर्ने व्यक्तिको गतिविधिले विद्यार्थीको पठनपाठन र विद्यालयको शैक्षिक वातावरणमा असर परेको हो वा होइन भन्ने विषयमा समेत शिक्षा शाखा, गाउँपालिका तथा सम्बन्धित शिक्षा निकायले अनुगमन गरी आवश्यक तथ्य सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ।
शिक्षकको प्राथमिक जिम्मेवारी विद्यार्थीको भविष्य निर्माण हो कि राजनीतिक गतिविधिमा सहभागिता?
यो प्रश्नको जवाफ अब सम्बन्धित शिक्षा निकायको छानबिन र तथ्यले दिनुपर्ने देखिन्छ।
