हरियाली बन उपभोक्ता समितिको चुनाव नजिकिँदै गर्दा मनहरी–९ मा राजनीतिक तापक्रम चुलियो, एमालेभित्रको असमझदारी सतहमा
मनहरी गाउँपालिका–९ अन्तर्गत रहेको हरियाली सामुदायिक बन उपभोक्ता समितिको आगामी जेठ १० गते हुने निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। यसपटकको चुनावमा नेकपा एमाले र नेपाली कांग्रेस निकटका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ, भने स्थानीय तहमा नेतृत्व परिवर्तनको बहस र अपेक्षा पनि तीव्र रूपमा सतहमा आएको छ।
नेपाली कांग्रेस निकटका ईमानसिं तामाङ अध्यक्ष पदका लागि उम्मेदवार बनेका छन्। उनले विगतमा उपाध्यक्षको जिम्मेवारी निभाएका थिए र हाल कार्यवाहक अध्यक्षको भूमिकामा छन्। समितिको कार्यकाल सकिएको लामो समयसम्म निर्वाचन घोषणा नगरिएको, आवश्यक भेला नबोलाइएको, तथा ढिलासुस्ती देखिएको भन्दै उनीप्रति केही स्थानीय असन्तुष्ट छन्। तर उनको प्यानलमा स्थानीय लोकप्रिय युवा व्यवसायी रविन्द्र श्रेष्ठ कोषाध्यक्ष पदमा उम्मेदवार रहेकोले युवाहरूको बलियो समर्थन रहेको बताइन्छ।
दोस्रो पक्षमा नेकपा एमालेबाट पर्वदेव अधिकारी अध्यक्ष पदका उम्मेदवार बनेका छन्। झण्डै १७ वर्षसम्म सचिव र अध्यक्ष भई काम गरेका अधिकारीमाथि विगतमा काठ बिक्रीसम्बन्धी अनियमितताको आरोप लाग्दै आएको थियो। पछिल्लो चुनावमा पराजित भएपछि उनी समितिबाट बाहिरिएका थिए। त्यसपछि उनले नेकपा एमालेबाट वडासदस्य पदमा जित हासिल गरेका थिए। तर अहिले वडासदस्य पदबाट राजीनामा दिँदै पुनः बन समितिको अध्यक्षमा उम्मेदवारी दिनुले पार्टीभित्र गम्भीर असमझदारी निम्त्याएको छ।
एमालेकै एक स्थानीय नेताका अनुसार, पर्वदेव अधिकारीले जुनसुकै समयमा जुनसुकै पदमा पनि आफैं हुनु पर्ने जस्तो व्यवहार गर्दै आएको देखिएको छ, जसले गर्दा धेरै कार्यकर्ताहरूमा असन्तोष फैलिएको छ। उनी भन्छन्, “वडासदस्यजस्तो गरिमायुक्त पद छोडेर बन समितिमा फर्कने मोह देखाउँदा पार्टी अनुशासन र छविमा नकारात्मक असर परेको छ ।” वडा सदस्यबाट राजिनामा दिएर अध्यक्षमा उम्मेद्बारी दिनुले बिगतमा राम्रै लाभ लिगेको र फेरि तेहि लोभले समितिमा मोह जागेको हुनासक्ने आरोप लागेको छ।
पर्वदेव अधिकारीको प्यानलबाटै कोषाध्यक्ष पदमा राजेन्द्र कुँवर उम्मेदवार बनेका छन्। पर्यटन व्यवसायमा सक्रिय राजेन्द्र कुँवर प्रभावशाली र सशक्त उम्मेदवार मानिन्छन्। उनको उम्मेदवारीले उक्त पदमा प्रतिस्पर्धा झनै चाखलाग्दो बनाएको छ।
अध्यक्ष पदमा आफ्नै पार्टीका इमानदार छवि भएका नेता बलराम भट्टले पनि प्रारम्भिक चरणमा उम्मेदवारी दिएका थिए। तर पछिल्लो अवस्थामा उनले उम्मेदवारी फिर्ता लिएका छन्। भट्टको निर्णयले चुनावी समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने स्थानीयहरूको विश्वास छ। “बलराम भट्टले जसलाई समर्थन गर्छन्, उसैको जित सुनिश्चित हुन्छ,” भन्ने बुझाइ स्थानीयस्तरमा बलियो देखिन्छ। यद्यपि, उनले हालसम्म कसैलाई समर्थन गर्ने/नगर्ने भन्ने विषयमा कुनै धारणा सार्वजनिक रूपमा व्यक्त गरेका छैनन्।
हालका अध्यक्ष राजकुमार श्रेष्ठको कार्यकालमा समितिमा पारदर्शिता, निष्पक्षता, सामुदायिक सहभागिता, र वातावरणीय सचेतना प्रवर्द्धन भएको स्थानीयवासीहरू बताउँछन्। समितिको लेखाप्रणाली सुधार, वन पैदावारको संरक्षण, र पदाधिकारीहरूलाई कुनै लाभ नदिने निर्णयले जनविश्वास बलियो बनाएको हो। श्रेष्ठको सादा जीवनशैली, इमानदार छवि, व्यावहारिक सोच र निष्पक्ष नेतृत्व क्षमताले गर्दा उनी गाउँको नेतृत्वको आदर्श पात्र बनेका छन्। उनी कसैलाई खुलेर समर्थन गरेका छैनन्, तर स्थानीयहरू भन्छन्, “श्रेष्ठले जसलाई समर्थन गर्नुहुन्छ, हामी त्यसैलाई मत दिन्छौं। उहाँले व्यक्तिगत स्वार्थ होइन, सधैं गाउँको हितलाई प्राथमिकता दिनुभएको छ।”
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार, यो निर्वाचनले केवल सामुदायिक बन व्यवस्थापनमै होइन, मनहरी–९ को समग्र राजनीतिक ध्रुवीकरण र नेताहरूको लोकप्रियताको परीक्षण पनि गर्नेछ। एक विश्लेषक भन्छन्, “यदि पर्वदेव अधिकारीले जित हासिल गरे भने केही समयका लागि पकड कायम रहन सक्छ। तर पराजित भएमा न केवल सामाजिक छवि, बरु एमालेभित्रको भविष्यसमेत संकटमा पर्न सक्छ।” यसपटकको नेतृत्व चयनले आगामी स्थानीय चुनावहरूमा समेत प्रभाव पार्ने सम्भावना रहेकोले, यो निर्वाचनले मनहरी–९ को राजनीतिक नक्शा पुनः कोर्ने सम्भावना पनि प्रवल देखिएको छ।